वैशाख १० : जनयुद्धको अन्तिम फौजी मोर्चाको सम्झना 

लेखकः जानुका धमला

म अहिले तेही मझेरी र आँगनमा छु। राज्यसत्ताविरुद्धको विद्रोहको युगीन पाठशाला मानिने पेरिस कम्युनको आँगनबाट नेपालको युगीन विद्रोहको अनुभव बाँड्न पाउने भाग्यमानी हूँ आजको दिनमा म। यसैले म आज यहाँबाट माओवादी जनयुद्धको अन्तिम मोर्चा मानिने चौतारा मोर्चाको गर्त उधिनिरहेको छु।

यहाँ पनि कोरोना भाइरसको कहरले कोठामा कैद छु। आफैंलाई बन्दी बनाएर बस्नुको पीडा अनेक छन्। यस्तो बेलामा म स्मृतिका पानाबाट विस्मृत हुँदै गरेका पुराना अनुभवका पाना पल्टाउने जमर्को गरिरहेको छु।

यो पृष्ठमा जनयुद्धका आँधीमय पछिल्ला दिनका अनुभूति छन्। त्यस्तो आँधीमय दिनको साक्षी हुनुको ग्लानि होइन, पीडा पनि होइन, गर्वका शृङ्खला कुँदिएका छन् मनभरि।

ठोकर्पाबाट जिउँदै र सग्लो भएर लगत्तैको अर्को चौतारा मोर्चाको साक्षी हूँ म। सेनाको स्थल र हवाई आक्रमण छिचोल्दै त्यही सेनाविरुद्ध गौरवशाली आक्रमणमा सहभागी हुन पाउने भाग्यमानी मान्छु म आफूलाई।

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा तय गरिएको हतियार प्रर्दशन कार्यक्रम शाही नेपाली सेनाको हवाई आक्रमणका कारण बिथोलियो। यो त्यही कार्यक्रम थियो जहाँ वर्तमान सभामुख अग्निप्रसाद सापकोटा बालबाल बाँचेका थिए। संयोगले त्यो त्यही कार्यक्रम थियो जहाँ बाँचेका पार्टीका दुई जना शीर्ष नेतृत्व देशको सभामुख भए। ठोकर्पाको विषयमा अर्को आलेखमा चर्चा गरौँला। यो पाली चौतारा मोर्चाको सम्झना गरौँ।

२०६३ वैशाख १० गतेको चौतारा मोर्चा। यसलाई माओवादी जनयुद्धको अन्तिम फौजी मोर्चा भनिन्छ। यही मोर्चापछि राजतन्त्रविरुद्ध सात राजनीतिक दल र विद्रोही नेकपा माओवादी सुगठित र सङ्गठित भएर विस्तृत शान्ति सम्झौताको चरणमा कटिबद्ध भएका थिए। र, त्यसपछि शाही नेपाली सेना र माओवादीले गठन गरेको जनमुक्ति सेनाबीच ‘अहो!’ भन्ने भीषण लडाँई भएन।

रणनीतिक प्रत्याक्रमणको चरण थियो। ढाडमा टेकेर टाउकोमा ठोक्ने भनिएको थियो। तर ठोकर्पामा झण्डै झण्डै माओवादीले ठूलो धक्का खाएन। तर त्यहाँ राज्यपक्षीय सेनाले जितेन। जितेको हुँदै होइन। बरु ठोकर्पाको सहायक लडाइँमा राज्यपक्षीय सेनाले हार खाएको हो। माओवादीविरुद्ध राज्यको शक्तिको बल खेर गएकै हो ठोकर्पामा। यहाँ विद्रोही धुलिसात भएको हुँदो हो त जनयुद्धको अन्तिम फौजी मोर्चाको रुपमा चौताराको परिकल्पना हुँदैनथ्यो सायद!

ठोकर्पालगत्तै कमाण्ड इन्चार्ज बर्षमान पुन (अनन्त) को अध्यक्षतामा मध्य कमाण्ड अन्तर्गतको महत्वपूर्ण वैठक बस्यो। वैठकमा सम्बन्धित जिल्ला इन्चार्जहरु र तत्कालीन जनमुक्ति सेनाको डिभिजन, ब्रिगेड र बटालियनका कमिसार, कमाण्डर र सहकमाण्डर कमाण्डरलगायतका थिए। त्यही वैठकले राजधानी वरीपरि कै जिल्लाको सदरमुकाम कब्जा गर्ने रणनीतिलाई क्रियान्वयनको दिशामा लगेको हो।

धेरैलाई ऊ बेला माओवादी र सात राजनीतिक दलबीच राजतन्त्रविरोधी आन्दोलनमा फौजी आक्रमण पनि गर्ने सहमतिको विषय पत्यार लाग्दैन। पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा अभिव्यक्ति गरेका अनभुवमाथिको टिकाटिप्पणी हेर्दा र सुन्दा धेरैले पत्याएको जस्तो लाग्दैन। तर सात राजनीतिक दलले सडकमा राजतन्त्रविरोधी अभियान चलाउने र जनमुक्ति सेनाले राजधानी वरिपरी नै शाही सेनाको ब्यारेकमाथि फौजी धक्का दिने कुरा राजनैतिक दल र बिद्रोही (माओवादी) दलका नेताहरु सहमत भएकै हुन्। यही सहमतिकै सेरोफेरोमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित रिपिटर टावर आक्रमणको योजना तय भएको हो।

अर्थ चाँहि के मा रहेछ भने युद्धमा लागेको घाऊले दुखाएको शरीरको उपचार हुने रहेछ तर मनै दुखेपछि ओखतीको अपेक्षा पनि नहुने रहेछ।

त्यो बेला वातावरण रातो र तातो दुबै थियो। बेथान स्मृति ब्रिगेड, बासु स्मृति ब्रिगेड, प्रताप स्मृति ब्रिगेडबाट प्लाटुन सहकमाण्डर सम्म र जिल्ला पार्टीको तर्फबाट एरिया कमिटी सदस्यसम्मको उपस्थितिमा सिन्धुपाल्चोकको बाफलनजिकै घ्याङ्घडाँडामा एउटा प्रशिक्षण कार्यक्रम भयो। त्यसलाई कमाण्ड इन्चार्ज बर्षमान पुन, क्षेत्रिय ब्युरो इन्चार्ज अग्निप्रसाद सापकोट र जनमुक्ति सेनाको व्रिगेड कमाण्डर एवम् कमिसारहरुले प्रशिक्षण दिए।

प्रशिक्षणमा अनन्त भन्दै थिए ‘हामी बिजय निकट छौ। अन्तिम धक्का दिने बेला नजिक आएको छ। त्यसपछि निरंकुश राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्र नेपाल उदय हुनेछ।’ डिभिजन कमाण्डर विबिधले ‘ हामीले लडेको यो लडाईको अन्तिम मोर्चासँगै नेपालको शासन ब्यवस्थाको स्वरुप फेरिने र जनताको हक अधिकारको नयाँ युग शुरु हुने’ दावी गरे। डिभिजन सहकमाण्डर सञ्जीवले ‘युद्धको नयाँ मोर्चालाई नयाँ युद्धकलासहित सजाएर सुनौलो नेपालको शुरुवाती दिने’ सपना लडाकूको आँखाभरी सजाइदिए।

लडाकू छापामारका रुपमा कमाण्डरका यस्ता भनाईले रगत उमाल्छ। दृढ बनाउँछ। कठोर बनाउँछ। उसै मान्छे बलिदानीका लागि तयार कहाँ हुन्छ? हिजो के भयो, आज के भयो र भोली के हुन्छ भन्ने प्रश्नहरुलाई असरल्लै छाडौं। तर, लडाँई लडियो त्यही यथार्थ हो।

ठोकर्पाबाट बाँचेका पार्टीका दुई जना शीर्ष नेतृत्वले देशको संसद्को सभामुखको भूमिका निभाउने संयोग बनाए। चौतारा अर्को त्यस्तो संयोग हो जहाँ जनयुद्धको पहिलो फौजी मोर्चादेखि अन्तिम मोर्चासम्म एउटा महिला छापामारको भूमिका भेटिन्छ। ओनसरी घर्ती यसकै उदाहरण हुन्। चौतारा मोर्चाको स्मृतिभित्र हामीले जनयुद्धबाट उठेकी ओनसरी र तारा घर्तीहरुको भूमिकालाई अन्देखा गर्नहुँदैन भनेर सम्झिएको हो।

माओवादीले राखेको संविधानसभाको बटमलाइनमा संसदवादी राजनीतिक दलहरु भित्रभित्रै सहमति भइसकेको त्यतिबेला चर्चा थियो। काठमाण्डौलगायतका शहरका सडकमा राजतन्त्र विरोधी असन्तुष्टीले गति लिंदै थियो। राजनीतिक दल र माओवादीबीचको सहकार्यले अब राजतन्त्र रहँदैन भन्ने विश्वास जनतालाई दिएको थियो। तर ठोस परिणाम निकाल्न मध्यकमाण्डलाई जतिसक्दो छिटो तर सफल फौजी आक्रमण रचना गर्नु थियो। यसैलाई मूर्तिकृत गर्न सिन्धुपाल्चोकको बाफलबाट बेथान स्मृति व्रिगेडका,बासु स्मृति व्रिगेड,प्रताप स्मृति व्रिगेडका जनमुक्ति सेना युद्धस्तरमा युद्धसामाग्री तयार गरेर चौतारातर्फ अगाडि बढे। प्रचण्डले भन्नेगरेको दलहरुबीच फौजी र सडक प्रदर्शनको समन्वयबीच मध्यकमाण्डको हतारो यसैमा अड्किएको थियो भन्ने लाग्छ अहिले। परिणामतः सेनाको गण, प्रहरी, प्रशासन, कारागार र दूरसञ्चारलगायतका सरकारी कार्यालयहरुमा सयौं जनमुक्ति सेनाले एकसाथ हमला बोले।

संसदवादी सात दलहरुले सक्रिय राजतन्त्रको विरोधमा शान्तिपूर्ण आन्दोलन शुरु गरेयता माओवादीले गरेको त्यो ठूलो सशस्त्र आक्रमण थियो, जसलाई पछि दल र माओवादीको सहमतिमै भएको भन्ने दावी गरिंदै आएको छ। तर, लडेको हामीले हो, जनमुक्ति सेनाको एक्लो बलमा।

खैर, चौतारा मोर्चा हामीले लडेका युद्धहरुबीच सबैभन्दा रोमाञ्चक थियो। मनोभावना नै के तयार गराइयो भने त्यही (चौतारा) नै अन्तिम युद्ध हो र त्यसपछि हाम्रो मुक्तिको ढोका खोलिने छ। पुरानो व्यवस्थाविरुद्धको घृणा र आक्रोशको त्यो तुफानी आवेग हामीले त्यसअघि सायदै अनुभव गरेका थियौं।

मैले त्यो युद्धमा म भएर भनेको होइन, हामीबीचका युद्ध संवादको सारांश अहिले बाँडेकी हूँ।

डिभिजन कमान्डर, सहकमान्डर र तीनवटै ब्रिगेडका कमान्डर आफ्‍नोआफ्‍नो फर्मेसन लिएर ठोर्कपाबाट बलेफीको सुनकोशी नदी तरेर जलबिरे आसपासका घरहरूमा सेल्टर लिएर बस्यौँ। ती दिन माओवादीको जनमुक्ति सेनाको आउजाउ निक्कै बाक्लो थियो। शत्रु सेनाको नाकैमुनिबाट हामी अन्तिम युद्धको घनिभूत तयारीमा थियौँ। उसलाई हाम्रो बारेमा थाहा होस् नहोस्, त्यसको पर्वाह नै कम थियो। हो, यसैले त्यो युद्धको रोमाञ्चकता बढी थियो भनेकी हूँ मैले। यस्तो लाग्थ्यो मानौँ सबैखाले मुक्तिको ढोका खुल्दैछ। दलहरूबीच सम्झौताको ढोका त खोल्यो तर जनयुद्धकै ढोका त्यति सजिलै बन्द होला भन्ने हामीलाई लागेको थिएन। पछि मात्र थाहा भो।

२०६३ बैशाख ९ गते बेलुकी साँझ ७ बजेपछि जनमुक्ति सेना जलबिरे बजारमा जम्मा भए। आधुनिक र सुविधासम्पन्न सेना र प्रहरीसँग, मुख्यालयसँग जोडिएको क्षेत्रमा, सडक र हवाई दूरीको निकटतामा पनि नजिक क्षेत्रमा रहेको जिल्ला सदरमुकाममा विद्रोही पक्षको एउटा डिभिजनको तहले फौजी कारबाही गतिशील बनाउनु जनमुक्ति सेनाको फौजी गुणस्तरीयताको सवालमा पनि महत्वपूर्ण थियो।

डिभिजन कमान्डर विविधको उपस्थितिमा रोलकलमा निर्देशन प्राप्त भयो। सबै ब्रिगेड, मातहतका एसल्ट कमान्डरहरू र फोर्सलाई लिएर अगाडि बढे।  सबै आफ्‍नोआफ्‍नो आर्कमा पुगे। आक्रमणको अन्तिम तयारीबारे डिभिजन कमान्डरको सञ्चार सेटमा कुरा भयो।

त्यो समय आयो। डिभिजन कमान्डरले आक्रमणको तयारी आदेश दिए। रातको १० बजे युद्धको बिगुल बज्यो र सबै जनमुक्ति सेनाले आफ्नो तर्फबाट फायर खोल्यो।

मोर्चाको पूर्ण कमान्ड डिभिजन कमान्डर आफैले गरेका थिए। फिल्डलाई डिभिजन सहकमान्डर सञ्जीवले हाँके। सैन्य क्याम्प ब्लक कमान्ड क. सबिनले सम्हाले। जिल्ला प्रहरी कार्यालय ब्लकलाई क.अशोकले। मुख्य मिसन चाँही सेनाको क्याम्प नजिकै रहेको रिपिटर टावर पूर्ण रुपमा कब्जा गर्नु नै थियो। यसको फिल्ड कमान्ड क. जिवित, क विकल्पको कमान्डमा थियो।

युद्ध भीषण चल्यो। डिभिजन कमान्डरले फिल्ड कमाण्डरहरूलाई सञ्चार सेटमार्फत कासन गरिरहेका थिए,  ‘युद्ध जित्नुपर्छ, तर कम क्षतिमा धेरै उपलब्धि हासिल गर्नुपर्छ।‘

यहीबेला सेनाको नाइटभिजन हेलिकप्टरले माथिबाट फायर गर्यो। ८१ एमएमका सेलहरु आकाशबाट खस्न थाल्यो। तर त्यसको प्रभाव जनमुक्ति सेनामा परेन। यसैले उनीहरु निरन्तर लडिरहे।

रातको करिब १ बजेतिर डिभिजन कमान्डर भएको ठाउमा सञ्चार सेटमार्फत सबै ठाउँको रिपोर्ट संकलन भयो। सबैतिर आक्रमण भीषण अगाडि बढिरहेका थियो। करिब १५ मिनेटपछि क. बिकल्प र क. जिवितको सञ्चार सेटबाट ‘सोचेभन्दा बलियो फोर्टिफिकेसनका कारण मोर्चा अघि बढ्न कठीन भएको र चारजनाको शहादत भएको’ खवर आयो।

त्यहाँ केही बेरका लागि फायरिंग रोकियो। आफनो आफनो कमान्डमा रहेको साथीहरुलाई घाइते र शहादत प्राप्त गरेको साथीहरुको शव लिएर फर्कने आदेश गयो। सबै कमान्डरहरू फर्कने तयारीमा रहँदा शाही नेपाली सेनाले बमबारी शुरु गर्यो। त्यो ज्यादै भीषण थियो। उसले आकाश र जमीनबाट आफूसँग भएको सम्पूर्ण शक्ति प्रयोग गरिरहेको थियो। फर्कने क्रममा नै क. विबिध ८१ सेलको टुक्रा लागेर घाइते भए। मोर्चामा बिजयकुमार न्योैपाने (क.शैलेस), क.जीवन्त, क.क्षितिज, क.असिमले शहादत प्राप्त गरे। क.रन्जन, क.जिबन, क.रञ्जितलगायत ५० जना कमरेड गम्भीर घाइते भए।

युद्धका अनेक परिस्थिति हुन्छन्। तत्कालीन बिग्रेड कमान्डर ऋखेश्वर बुढामगर (क.सविन) सम्झन्छन्, ‘त्यो निकै प्रतिअनुकूल परिस्थितिको बीचमा तय भएको युद्धमोर्चा थियो, हामीले रेकि गरेर फर्किएपछि उनीहरुले फौजी फोर्टिफिकेसन झन् बलियो बनाएका रहेछन्। उनीहरुले आक्रमणभन्दा प्रतिरक्षामा जोड दिएका रहेछन्। उनीहरुलाई माओवादी हमला हुन्छ भन्ने कुरा राम्रैसँग थाहा थियो। किनकी उनीहरुकै क्षेत्रमा प्रायः नयाँ अनुहारका मानिसहरुको चहलपहल केही दिनदेखि निकै थियो।’

‘जनयुद्धको बिसर्जन, जनमुक्ति सेनाको बिसर्जन, जनसरकारहरुको बिसर्जन र जनअदालतहरुको बिसर्जन जायज थियो कि थिएन?’ अहिले यो मिठो प्रश्न होइन।

जनयुद्धको शान्तिपूर्ण अवतरण ‘पार्टी, क्रान्ति र जनताप्रति घात भयो कि भएन ?’ यो प्रश्नको औचित्य पनि अहिले उस्तो छैन।

जनयुद्धककै बलमा मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको ध्रुवसत्य हो। तर त्यसको  फाइदा कसले कसरी लियो वा कसले किन पाएनन् ? यो तीतो प्रश्नको उत्तरको अपेक्षा पनि आज छैन।

जसका लागि गणतन्त्र आउनपर्ने थियो तिनका लागि गणतन्त्र साँच्चै आयो कि आएन ? जो बलिया थिए र जोसँग पहूँच थियो तिनलाई मात्र गणतन्त्र लाग्यो भन्ने आरोपहरुमा सत्यता छ कि छैन ? यस्ता प्रश्नहरु अहिले तयार गर्नुको महत्व र अर्थ दुबै छैन।

संघीयताको फूल र गाउँगाउँमा सिंहदरबारको फल युद्धलाई आदर्श मानेर लड्ने भोका, निमुखा, विपन्न, सीमान्तकृत पिछडाबर्गसम्म पुग्यो कि पुगेन ? अहिले यस्तो सवाल उठाएर अरिंगालहरुको कठघरामा जाने रहर पनि म पाल्दिन। अर्थ चाँहि के मा रहेछ भने युद्धमा लागेको घाऊले दुखाएको शरीरको उपचार हुने रहेछ तर मनै दुखेपछि ओखतीको अपेक्षा पनि नहुने रहेछ।

चौतारामा देखिएका सपना देउरालीसम्म किन पुग्न पाएन ? म आफैंसँग प्रश्न गर्छु। भर्चुअल संसारमा सँगैका सहयोद्धाहरुसँग पनि सोधें चौताराको स्मृति। धेरैका धेरैखाले उत्तर आए। तर चित्त बुझ्ने उत्तर आफैंसँग नभएको बेलामा अरुको उत्तरमा अल्झनु पनि त जायज छैन।

अन्तमा चौतारा मोर्चाका महान शहिद बिजय न्यौपाने (क.शैलेस) किरण लामा (क.जीबन्त) क.असिम र क.क्षीतिज प्रति हार्दीक श्रदासुमन तमाम घाइते कमरेडहरु प्रति उच्च सम्मान छ।

लेखक तत्कालिन माओवादीको जनमुक्ति सेनाकी सदस्य हुन्।

(पुरुषोत्तम लम्सालको सहयोगमा)

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया