सरकारलाई अब संसद मार्फत ठेगान लगाउनु पर्छः काङ्ग्रेस महामन्त्री खड्का

सुर्खेत। नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्ताधारी दल आन्तरिक लुछाचुँडीमा व्यस्त भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले लकडाउनको चौथो चरण शुरु गर्दा सम्म पनि कोरोना सङ्क्रमण रोकथाममा सरकारले प्रभावकारी कदम चाल्न नसकेको टिप्पणी गरेका हुन्।

शुक्रबार देखि लकडाउनको चौथो चरण शुरु भएको र संसद्‌ अधिवेशन समेत प्रारम्भ भइसकेको भन्दै महामन्त्री खड्काले यति लामो अवधि सम्म जम्मा १४ हजार नागरिकमा मात्रै परिक्षण परिक्षण गरेर सरकार त्यसैमा दङ्ग परेको आरोप लगाएका छन्।

पिसिआर किटको अभावले कतै परिक्षण रोकिएको खबर त कतै कछुवा गतिमा परिक्षण भइरहेको समाचारमा सरकारको ध्यान नगएको प्रति खड्काले दुख व्यक्त गरेका छन्।

महामन्त्री खड्काले विदेशमा रहेका नेपालीहरू उतै अलपत्र रहेको र स्वदेशी मजदुर राहतको अभावमा भोकभोकै बस्नुपर्ने अवस्थामा सरकार र सत्ताधारी दल भने देशलाई लकडाउनमा राखेर आन्तरिक सत्ताको लुछाचुँडीमै व्यस्त रहनु दुर्भाग्य रहेको उल्लेख गरेका छन्।

सरकारले प्रतिपक्ष, नागरिक र सञ्चारकर्मी कसैको आवाज नसुनेको भन्दै अब संसद्‌ मार्फत सरकारलाई ठेगान लगाउनु पर्ने आवश्यकतामा जोड दिएका छन्।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया