बोर्डका पूर्व अध्यक्षको प्रचण्डलाई पत्रः कमरेड! मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला

सुर्खेत। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक पत्र लेखेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भण्डारीले सोमवार राति पत्र लेखेका हुन्।

माओवादी आन्दोलनमा प्रचण्डसँग २३ वर्ष बिताएका भण्डारीले हाड घोट्नेलाई पुरस्कृत गर्ने र टाउकोमा बोक्नेलाई तिरस्कृत गर्ने प्रचण्डको बानी आफूलाई हाँस्यास्पद लागेको उल्लेख गरेका छन्। उनले आफ्नो पार्टी सदस्यता खारेज गर्नपनि प्रचण्डलाई चुनौती दिएका छन्।

माओवादी जनयुद्धका बेला सुर्खेत जेलब्रेक गरेका योद्धाको रुपमा चिनिएका भण्डारी विसं २०६८ जेठ १२ देखि  २०६९ कार्तिक २ गते सम्म चलचित्र विकास बोर्डको अध्यक्ष रहेका थिए।

यस्तो छ भण्डारीले प्रचण्डलाई लेखेको पत्रः

यो पत्र कमरेड प्रचण्ड सम्म पुगोस्।
प्रिय प्रचण्ड सलाम,
तपाइसँग बिताएका तेइस वर्ष बडो रोमान्चकारी रहे सुरुमा तपाईंका दस्तावेजहरू हेर्दा हाम्रा आङ  जिरिङ्ग हुन्थे। हामी तपाईंका योजनामा हामफाल्थ्यौं बिना सर्त। पछि पार्टी टुट्फुट भयो, भताभुङ्ग भयो, तै पनि बिचार र राजनीतिमा तपाईं नै हो भनेर हामी लागि रह्यौ। समकालीन राजनीतिमा तपाईंले भूमिका निर्वाह गर्नसक्नु हुन्छ भन्ने नै लाग्थ्यो। तर विडम्बना सङ्गठनको मामिलामा केही दोषहरू, केही समस्याहरू रहेछन् भन्ने अहिले लागिरहेको छ। एकै पटक हो पनि होइन पनि भन्ने तपाईंको बानी अचम्म लाग्दो छ। नेता ले हो वा होइन भन्न सक्नु पर्छ तर तपाईंको बानी अगाडि सबै हो र पछाडि सबै होइन भन्ने देखियो। तपाईँलाई नेस्तनाबुद गर्ने, तपाइको हाड घोटेर चन्दन लगाउनेलाई आफ्नो देख्नु, पुरस्कृत गर्नु र तपाईंलाई टाउकोमा बोक्नेलाई तिरस्कृत गर्नु यो मौसम बडो हाँस्यास्पद छ। तपाईंलाई लाग्दो हो, दुई चार जना कर्पोरेट हाउस मिडिया र बिचौलिया भए राज्य ठिकै हुन्छ। तर हामी भुइँमान्छेहरूले कति प्रश्नको जवाफ दिनु पर्छ, त्यो हामीलाई नै थाहा छ, मैले एउटा उखान सम्झे “ढाटको निम्तो खाई पत्याउनु“ तपाइको कार्य शैली मलाई त्यस्तै लाग्यो तपाईंको दुईतिहाइको सरकार चिरायु रहोस्। शुभकामना।
मन लागे मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला।

तपाईंकै गणेश भण्डारी ।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया