अध्यादेशविरुद्ध साझाले राख्यो तीन प्रस्ताव

काठमाण्डौं। साझा पार्टीले सरकारले जारी गरेको अध्यादेश विरुद्ध तीन प्रस्ताव अघि सारेको छ। पार्टीका सहप्रवक्ता शरदराज पाठकले बुधवार विज्ञप्ति जारी गर्दै सरकारले हालै जारी गरेका दुई अध्यादेश देश र लोकतन्त्रका लागि घातक भएको उल्लेख गरेका छन्।

साझाले अध्यादेश विरुद्ध पार्टीका तर्फबाट ३ प्रस्ताव राख्दै तत्काल सडकमा उत्रिन नसकिने अवस्थाले गर्दा हाललाई सामाजिक सञ्जालबाट संसदमा रहेका र नरहेका दल, नागरिक समाज र आम सर्वसाधारण सबै मिलेर अध्यादेश खारेजीको जोडदार माग गर्न आह्वान गरेको छ।

अध्यादेशविरुद्ध दबाब दिन र संघर्ष गर्न संसदमा रहेका र नरहेका इच्छुक सबै दलहरूको संयुक्त मोर्चा निर्माण गर्न र संवैधानिक निकायमा राजनीतिक भागबन्डा बन्द गर्ने प्रण गर्न पनि साझाले सार्वजनिक अपिल गरेको छ।

साझाले  सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्न पनि माग गरेको छ।

विज्ञप्तिको पूर्णपाठः

प्रेस विज्ञप्ती: अध्यादेशविरुद्ध साझा पार्टीका तीन प्रस्ताव
(प्रकाशन तथा प्रसारणका लागि सक्दो श्यर गरिदिन आग्रह सहित)

राष्ट्रिय विपद्का माझ नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेश लोकतन्त्र र देश दुबैका लागि घातक हुने निश्चित छ। सो अधिनायकवादी र अनिष्टकारी कदम तुरुन्त फिर्ता गर्न आम आवाज उठिरहेको छ।

राजनीतिक दलसम्वन्धी अध्यादेश निहित स्वार्थपूर्तिका लागि पार्टी फुटाउने कुत्सित मनसायबाट र संवैधानिक परिषद्सम्वन्धी अध्यादेश संवैधानिक निकायमाथि पूर्ण नियन्त्रण कायम गरी राजनीतिक प्रतिशोध साँध्ने ध्येयबाट प्रेरित भएको प्रष्टै देखिन्छ।

विशिष्ट व्यक्तित्व र विज्ञहरू रहनुपर्ने संवैधानिक निकायलाई घृणित राजनीतिक भागबण्डाको थलो बनाउने दशकौँको राजनीतिक प्रवृत्ति पनि त्यत्तिकै दोषी छ।

यस्तो अवस्थामा साझा पार्टी निम्न तीन आह्वान गर्न चाहन्छ:

१। संसदमा रहेका र नरहेका दल, नागरिक समाज र आम सर्वसाधारण सबै मिलेर अध्यादेश खारेजीको जोडदार माग गरौँ। तत्काल सडकमा उत्रिन नसकिने अवस्थाले गर्दा हाललाई डिजिटल अभियान चलाऊँ। त्यसका लागि यसै विज्ञप्तीसाथ प्रेषित सबैले प्रयोग गर्न मिल्ने पोस्टर सामाजिक सञ्जालमा प्रयोग गरौँ।

२। अध्यादेशविरुद्ध दबाब दिन र संघर्ष गर्न संसदमा रहेका र नरहेका इच्छुक सबै दलहरूको संयुक्त मोर्चा निर्माण गरौँ। र, अब संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्ने प्रण गरौँ।

३। सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्न दबाब दिऊँ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
मिति: १० वैशाख २०७७

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया