‘रुकुम काण्ड’ मानवता विरुद्धको बर्बर आक्रमण होः परियार

सुर्खेत। साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले रुकुम काण्ड मानवता विरुद्धको बर्बर आक्रमण भएको बताएका छन्। अन्तरजातीय प्रेम  सम्बन्धकै कारण ज्यान गुमाएका नवराज विश्वकर्मा र उनका साथी टिकाराम विश्वकर्मालाई सोमवार फेसबुक मार्फत श्रद्धाञ्जली दिदैँ परियारले घटनाबारे निष्पक्ष छानविन गर्न उच्च स्तरीय समिति गठन गर्न पनि सरकारसँग माग गरेका छन्।

नेता परियारले मानवता र मर्यादालाई चुनौती दिने हत्याकाण्डले जनार्दन शर्मा र धरणीधर उपाध्याय जस्ता रुकुमका नेतालाई किन छोएन भनेर प्रश्न समेत गरेका छन्।

माओवादी ‘जनयुद्ध’को उद्गम स्थल रुकुममा भएको यो बर्बरतामा स्वयं वडा अध्यक्ष जोडिनु अति लज्जास्पद भएको र जनार्दन शर्माहरुलाई घटनाले नपोल्नु र राजनीतिकरण हुनु झन लज्जास्पद भएको परियारले उल्लेख गरेका छन्।

शनिवार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित प्रेमिकासँग बिहे गर्न भनेर गएका  जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको गाउँलेहरुको कुटाइबाट मृत्यु भएको थियो। घटनामा नवराजका साथी टिकाराम विश्वकर्माको समेत मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन्।

यस्तो छ नेता परियारको स्टाटसः

रुकुम काण्ड : मानवता विरुद्धको बर्बर आक्रमण
मानवता र मर्यादालाई चुनौति दिने हत्याकाण्डले किन पोलेन जनार्दन शर्मा र धरणीधर उपाध्यायहरुलाई ?

अन्तर जातीय बिहे छुटाउन भएको वर्वर आक्रमणवाट नबराज विश्वकर्मा सहित दुई जनाले ज्यान गुमाएका छन भने ५ जना युवा अझै बेपत्ता छन।

माओवादी ‘जनयुद्ध’को उद्गम स्थल रुकुममा भएको यो वर्वरतामा स्वयं वडा अध्यक्ष जोडिनु अति लज्जास्पद हो भने जनार्दन शर्माहरुलाई घटनाले नपोल्नु र राजनीतिकरण हुनु झन लज्जास्पद ।

घटनाको अनुसन्धान गरी दोषीलाई कडा कार्यवाही गर्न उच्च स्तरीय छानविन समिति गठनको माग गर्दछु ।

कथित जातिय उचनीँचको अवशेषले एकाइसौ शताब्दीमा मानवीय सभ्यतालाईनै कसरी लज्जित बनाईरहेको छ भन्न शिलशिलेवार घटनासंगै यो पछिल्लो घटना काफि छ ।

छुवाछुत तथा जातिय भेदभाव कसुर तथा सजाय ऐन २०६३ लाई परिमार्जन गरी प्रभावकारी कार्यान्वयन नहुँदा र राजकीय अठोटका साथ छुवाछुत तथा जातिय विभेद निर्मुलको दृढ़ अठोट गरेर विशेष कार्यक्रमहरु नल्याँउदा सम्म नवराज विश्वकर्माहरुको हत्या अघिल्लो घटनामा संख्या थप भन्दा वढी केही नमान्ने जमात हामीलेनै गुर्राएगा छौं ।
प्रिय नवराज सन्तु राजकुमारी, लैला मजनु, रोमियो जुलियट, मुना मदन जस्तै अमर प्रेम गर्न तिमीलाई जातिय तगारोले हत्यामै रुपान्तरण गरिदियो, दुर्भाग्य तिमी जस्तै अजित मिजार, शिवशंकर दास, अस्मिता तोलांगी, संगिता परियार लगायत १ दर्जन भन्दा वढीको क्रुररतापूर्ण हत्या हुँदा पनि यो राज्य मौन छ ।

तिमी जस्तै जातपातलाई वेवास्ता गरेर चोखो माया लाउँदा मारिएका अजित मिजारको शव अहिले पनि न्यायको पर्खाईमा त्रिविवि शिक्षण अस्पताल महाराजगंजमा मानवता र न्यायलाई चियाएर कुरिरहेको छ ।

दर्जन वढी अन्य प्रेमी प्रेमीकाका हत्याराहरु दम्भका साथ घुमीरहेका छन प्रहरी प्रशासन र जातिय अहंकारवादीहरुको सहयोगमा ।

समाजमा पुनः यस्ता वर्वरता, दुस्कर्म र मानवता विरुद्धको अपराध दोहोरिन नदिन विशेष कदम चालौ यो समस्या कुनै जात र समुदाय भन्दा माथि उठेर मानवता र सभ्यता केन्द्रित लडाइँको रुपमा विकास गरौं ।

खुलेर वोलौं जातिय विभेद र छुवाछुत कलंकले नेपालीहरुको इज्जत विश्व मानचित्रमा अत्यन्त खराव ग्राफमा छ, कहिले सम्म सहने ?

 

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया