प्रधानमन्त्रीको सम्बोधन

– हरिप्रसाद गौतम


जति बिरामी भए पनि,
भ्रष्टहरूको बचाउको लागि तङ्ग्रिएर आए।
जनताको नाम बेचेर,
भ्रष्टाचारीलाई सुनपानी छर्किएर चोख्याए।
आशा त अरुनै थियो तर
जनता र सञ्चार माध्यमलाई धम्की दिएर गए।

धेरै भएको थियो उखान र टुक्का नसुनेको,
भ्रष्टहरूलाई कारवाही गर्छु भनेर हँसाए।
करोडौँको अनियमितता देखाउनेलाई,
बेमौसमको बाजा नबजाउ, भनी उल्लू बनाएर गए।
गणतन्त्रमा समाजवादको मतियारले,
स्वतन्त्रता भन्दा जीवन प्यारो हुन्छ भन्दै धम्काएर गए।

सिटामोल नपाएर मर्ने जनताले,
आइसोलेसन र आइसीयु खोज्ने भन्दै सम्झाएर गए।
भोकै सडकमा सुत्ने श्रमिकलाई,
केही समय धैर्य गर भन्दै मिठो सपना सुनाएर गए।
महाकालीपारिका नेपालीलाई,
आकाशको छानोमा सुत्न सिकाएर गए।

रोगको भन्दा भोकको शोकमा हुनेहरू,
ठुलै आशा गर्दै थिए।
उफ्,
हात्ती आयो हात्ती आयो फुस्सा बनाएर गए।
सुनिदै छ मरेको लासले नि जिस्क्यायो रे,
तर उ त,
आखामा पट्टि र कानमा कपास ठोसेर
निदाएको स्वाङ्ग पारिदिए।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया