माफ गर्नुस्, प्रधानमन्त्रीज्यू!

अचम्म भयो
छक्क परे म
किन हो खै किन
मैले जानिन
ताली बजाउन
सकिन
राष्ट्रिय गान गाउन
यसपाली कतै
पलाएन आशा
जागेन भरोसा
नेपाली त म असली हो
तर
माफ गर्नुस् प्रम ज्यू
तपाईँको आव्हानमा
खल्लो नाटक गर्न
खोक्रो चरित्र बन्न
यो मनले मानेन
अहँ मान्दै मानेन।

एक मुठी चामल
दाल तेल र नुन
खान नपाई
हाम्रै दाजुभाइ
भौतारिँदै कठै
रुदै हिँड्छन् अरे
बलिन्द्र आँसु बगाई
खै के भो मलाई
नेपाली त म असली हो
तर
माफ गर्नुस् प्रम ज्यू
तपाईँको आव्हानमा
शिर ठाडो पार्न
सकिन यसपाली
बजाउनै सकिन ताली।।

घुम्दैछन् यहाँ
खुल्लम खुल्ला अझै
भ्रष्टाचारीहरू
सङ्कटमा समेत मौका छोप्ने
लालची छुद्र पिपासुहरु
तपाईँकै वरिपरि
कालोबजारका साहुहरू
माफिया, गुन्डा र डनहरु
घूसखोर दलालहरू
स्वार्थी मक्खनवालहरु
जुन दिन प्रम ज्यू
यी राष्ट्रका धमिरा
चिन्नु हुन्छ सब
अनि
कोच्नु हुन्छ जेलमा
त्यस बखत प्रम ज्यू
ताली म बजाऊँला
राष्ट्रिय गान नि गाउला
सबले सुन्ने गरी
जगतले देख्ने गरी
तपाईंको आव्हानमा
खल्लो नहुने गरी
खोक्रो नबन्ने गरी
नेपाली त म असली हो
तर माफ गर्नुस् प्रम ज्यू
सकिन यसपाली
सकिन यसपाली।

फेसबुक प्रतिक्रिया

धेरै पढिएका सामाग्री

फेसबुक प्रतिक्रिया